काठमाडौं -मधेस प्रदेशमा गठन गरिएको सरकार असंवैधानिक भएको दाबी गर्दै नेपाल ल क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरूले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
श्रृजन नेपाल, अभिषेक दंगाल, सत्यराज कार्की र अमित ठाकुरले दर्ता गरेको उक्त रिटमा कोशी प्रदेशको नजिरलाई आधार बनाइएको छ। उनीहरूले मधेस प्रदेशका प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ (३) बमोजिम गठन गरेको सरकार संविधानविपरीत भएको दाबी गरेका छन्।
रिट निवेदनमा संविधानको धारा १६८ (२) अनुसार वैधानिक रूपमा सरकार गठन गर्न माग गरिएको छ। विद्यार्थीहरूले भनेका छन्, “प्रदेश प्रमुखले अपनाएको प्रक्रिया संविधानले तोकेको मापदण्डअनुसार छैन, त्यसैले तत्काल नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुपर्छ।”
यसअघि पनि सोही विषयमा विभिन्न रिटहरू दर्ता भई सुनुवाइको प्रक्रियामा रहेका छन्। आज नेपाल ल क्याम्पसका यी विद्यार्थीहरूले पनि कानुनी रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।









