काठमाडौँ- गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ‘गरिमा रोड रेस, २०८२’ को दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ।
यो रोड रेस प्रतियोगिता आगामी २०८२ मंसिर ६ गते, शनिबारका दिन सञ्चालन हुनेछ। गत वर्षदेखि सुरु गरिएको यस प्रतियोगितालाई यस वर्ष थप प्रतिस्पर्धात्मक बनाउँदै खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर, र नयाँ थप गरिएको भेट्रान (महिला तथा पुरुष) तर्फ ५ किलोमिटरको दूरीमा आयोजना गरिनेछ।
यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरूलाई समेट्ने उद्देश्यले भेट्रान विधा समावेश गरिएको बैंकले जनाएको छ।
बैंकले यस वर्षको ‘गरिमा रोड रेस, २०८२’ मा करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा राखेको छ। प्रतियोगिताका विभिन्न विधाका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। खुलातर्फ (महिला र पुरुष) समूहको विजेताले जनही रु. ५०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्, भने कर्पोरेट र भेट्रानतर्फका विजेताले जनही रु. ३०,००० नगद पुरस्कार पाउनेछन्। यसैगरी, खुलातर्फ दोस्रो हुनेले रु. ३५,०००, तृतीय हुनेले रु. २०,०००, चौथो हुनेले रु. १५,००० र पाँचौँ हुनेले रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। कर्पोरेट र भेट्रानतर्फ भने दोस्रो हुनेले जनही रु. २०,०००, तृतीय हुनेले रु. १४,०००, चौथो हुनेले रु. १०,००० र पाँचौँ हुनेले रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
रोड रेस प्रतियोगिता बालुवाटार, काठमाडौँ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट सुरु हुनेछ। खुलातर्फको १० किलोमिटर प्रतिस्पर्धाको रुट बालुवाटारबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पुनः सोही बाटो हुँदै बालुवाटारमा आएर समापन हुनेछ। त्यसैगरी, कर्पोरेट र भेट्रानतर्फको ५ किलोमिटर प्रतिस्पर्धा सोही स्थानबाट सुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो बालुवाटार पुगेपछि समापन गरिनेछ।
प्रतियोगितालाई व्यवस्थित गर्न विकास बैंकले खल्ती एप सँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु. २० शुल्क तिरी आफ्नो दर्ता गर्न सक्नेछन्। प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ।
बैंकले गत वर्षको रोड रेसमा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेको स्मरण गर्दै यस वर्ष समेत प्रतियोगीहरूको उल्लेख्य सहभागिता हुने विश्वास लिएको छ।









