काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्ग्य गरेका छन् । उनले एमालेको नेतृत्वमाथि अहङ्कार र दम्भको आरोप लगाउँदै भत्किएको र डढेको घरमा फर्किनु अर्थहीन भएको टिप्पणी गरेका हुन् ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता–समायोजन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले एमालेमा फर्किएका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई परोक्ष रूपमा उद्दृत गर्दै भने, “अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो । वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु ? त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा फर्किने पनि उस्तै–उस्तै मान्छेहरू नै हुन् जस्तो लाग्छ,” उनले व्यङ्ग्यात्मक शैलीमा भने ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घर फर्क अभियान का क्रममा नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ भनेर उल्लेख गरेको प्रसङ्गलाई समेत कडाइका साथ खण्डन गरे ।
“ओलीजीले यहाँ रहेका नेताहरूलाई वृद्धाश्रम भन्नुभयो । आफ्ना अभिभावकलाई वृद्धाश्रम भनेर गाली गर्नु भनेको राजनीतिक संस्कारको अपमान हो । आफ्नै पार्टीका पुराना साथी, अग्रज र अभिभावकप्रति यस्तो व्यवहार गर्नु अत्यन्तै निन्दनीय छ,” प्रचण्डले टिप्पणी गरे ।
उनले थपे, “जेनजीका युवाहरूले जब भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गरे, त्यही सरकारका तर्फबाट निर्मम दमन र हत्या भए । ती युवाहरूको आवाज दबाउनेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, तर वास्तविकता के हो भने ती जेनजी युवाहरू नै अब हाम्रो आन्दोलनमा प्रवेश गरिरहेका छन् ।”
कार्यक्रममा प्रचण्डले नयाँ पुस्ता र पुरानो पुस्ताबीचको एकता आवश्यक रहेको बताउँदै भने, “हामीले जुन पुस्ताबाट विद्रोह सिक्यौं, त्यहीबाट अब नयाँ पुस्ता पनि प्रेरित हुँदैछ । सुशासन, समृद्धि र जनताको अधिकारका लागि लड्ने भावना जेनजी युवाहरूमा जागृत भएको छ । यही हाम्रो भविष्य हो।”
उनको सम्बोधनभर नेतृत्वप्रति व्यङ्ग्य, आत्मविश्वास र नयाँ पुस्ताप्रतिको आशावाद झल्किएको देखिन्थ्यो । ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जनआकांक्षाबाट प्रेरित ऐतिहासिक कदम भएको बताए । हालको राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुको अर्थ गहिरो र दीर्घकालीन भएको बताए ।
‘यो कुनै ट्याक्टिकल एकता होइन,’ उनले स्पष्ट गर्दै भने, ‘राष्ट्रलाई संकटबाट बचाउन, जनताका सपना र समाजवादको यात्रालाई पुनः सही दिशामा डोर्याउन हामी एक भएका हौँ । जेनजी विद्रोहले नेपाली समाज र राजनीतिक नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो । त्यो जनविद्रोहले भ्रष्टाचार, असमानता र अल्छी नेतृत्वविरुद्ध एउटा नयाँ चेतना जगाएको छ । म ती युवाहरूप्रति कृतज्ञ छु ।’
प्रचण्डले वामपन्थी एकतालाई दीर्घकालीन रणनीति र समाज रूपान्तरणको स्थायी अभियानको रूपमा लिन आग्रह गरे । उनका अनुसार, यो एकता केवल केही नेताहरूबीचको सत्ता साझेदारी होइन, बरु देश र जनताको साझा भविष्य निर्माण गर्ने ऐतिहासिक मोड हो ।
‘हामीले विगतका गल्तीबाट सिकेका छौँ,’ उनले भने, ‘अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता केपी ओलीको अहंकार र सत्ता-दुरुपयोगका कारण टुटेको थियो । तर यो पटकको एकता नेतृत्वको अहंकार होइन, विचार, जनभावना र समाज रूपान्तरणको प्रतिबद्धतामा आधारित छ ।’
उनले वामपन्थी शक्तिहरूबीच हाल १२ घटक एकताबद्ध भइसकेको बताउँदै निकट भविष्यमै थप घटकहरू पनि पार्टीमा समाहित हुने जानकारी दिए । ‘आजै पेरिसडाँडामा नेताहरूसँग छलफल भयो,’ उनले भने, ‘यदि यही गति र समझदारीले एकता विस्तार भयो भने देशमा वामपन्थी बाहेकका पार्टीहरू अस्तित्वहीन बन्नेछन् ।’









