काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बिजुलीको बक्यौता असुली अब राजनीतिक हस्तक्षेपमुक्त भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब यो समस्या हटेको बताएका हुन्।
उनले राजनीतिक हस्तक्षेप मुक्त भएसँगै विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ,’ ऊर्जामन्त्री घिसिङले फेसबुकमा लेखेका छन्, ‘यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ।’
उनले नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको पनि उल्लेख गरेका छन्।
‘अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए। तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ,’ उनले भनेका छन्, ‘हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद।’
घिसिङले बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गरेको भन्दै प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, उद्योग वाणिज्य महासंघका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।










