काठमाडौं -नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र एकता र सहकार्यको आवश्यकता बलियो बनेकाले आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरू भएको बैठकमा धारणा राख्दै उनले पछिल्ला आन्तरिक निर्वाचनहरूले पार्टीलाई कमजोर बनाएको टिप्पणी गरे ।
‘मैले बुझेको कांग्रेसमा अहिलेको अवस्था के छ भने, आन्तरिक चुनावले पार्टी खत्तम बनायो,’ सहमहामन्त्री राठौरले भने, ‘त्यसैले हामी एकढिक्का भएर अघि बढ्नुपर्छ । निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’
उनले २१ फागुनमा हुने निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने भए ‘विशेष महाधिवेशन’ गर्ने विकल्प पनि खुलेको बताए । ‘गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ राठौरले भने, ‘हामी त्यसका लागि तयार छौँ ।’
सहमहामन्त्री राठौरले १४औं महाधिवेशनमा पराजित पक्षका नेताहरूले विशेष महाधिवेशनको माग गरिरहेको टिप्पणी पनि गरे ।
‘म विशेष महाधिवेशनको विपक्षमा होइन,’ उनले भने, ‘हामीलाई हेप्ने ? अपराधी झैं व्यवहार गर्ने ? केन्द्रीय समितिमा भएका नेताहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ भने ठीक छ, त्यसलाई फेस गरौँ ।’









