काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौँ,’ गृहमन्त्री अर्यालले भने ।
प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको उनले बताए ।
यसअघि गृह मन्त्रालयले आवश्यक ऐन संशोधन गर्ने गरी अध्यादेशको मस्यौदा सुझावका लागि निर्वाचन आयोग पठाएको थियो । आयोगले सुझाव दिइसकेको छ ।









