काठमाडौं– मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् ।
मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए ।
तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूबीच हात हालाहाल समेत भएको थियो ।
प्रस्ताव दर्ताका लागि उपसभामुखले तोक लगाए पनि सभामुख मण्डलले कर्मचारीलाई सचिवालयमा दर्ता गराउन रोकेका थिए । लामो रसाकसीपछि कर्मचारीले प्रस्ताव दर्ता गरेका थिए । त्यसपश्चात् निस्किन खोज्दा सभामुख र तिनका कार्यकर्ताहरूले आफूहरूलाई थुनेको सात राजनीतिक दलका सांसदहरूले बताएका छन्।
यस्तै सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सातजना सांसदलाई कारबाही गरेका छन् ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन् ।
नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह (सर्लाही), जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् ।
उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले निकालेका छन् ।
‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरु मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा उल्लेख छ ।









