काठमाडौँ – विवाहित सुन्दरीहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ अन्तर्गतको ट्यालेन्ट शो राजधानीको जमालस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगीहरूले विविध प्रतिभा प्रस्तुत गर्दै आगामी फाइनलका लागि प्रभावशाली छाप छोडे।
ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला र स्ट्यान्ड–अप कमेडी सहितका प्रस्तुति दिए।
गीतमा सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, बिष्णु तिमिल्सिना, नृत्यमा कञ्चन झा, तारा खनाल, दिपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जन सक्रिय रहे।
त्यस्तै, इमायुङ राई ले योग, श्रीनि ढङ्ख्वा, शुभाना रोक्का, करुणा श्रेष्ठ ले कविता, बिष्णु भण्डारी ले मुक्तक, गंगा लामिछाने ले गजल र अरणा लामा ले फास्ट फेशनबारे प्रस्तुति दिए।
बिनीता अधिकारी र कल्पना बिष्ट ले स्ट्यान्ड–अप कमेडी गरे, जबकि विद्या चौहान, रञ्जना बुढाथोकी ले भाषण र सजनी जोशी ले वकालत प्रस्तुत गरिन्। रोजी थापा अभिनयमा देखिइन्।
कार्यक्रममा नृत्य कोरियोग्राफर रामचन्द्र कोइराला, गीतकार दयाराम पाण्डे, अभिनेत्री पल्पसा डंगोल, थिएटर आर्टिस्ट सरिता गिरी, मार्केटिङ चीफ विनोद शर्मा, अधिवक्ता रविन्द्र तामाङ र पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लमिछाने निर्णायकका रूपमा उपस्थित थिए।
फाइनल प्रतियोगिता यही शनिबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ। सो अवसरमा मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल (८औँ संस्करण) र एमएस इन्टरनेसनल का विजेता घोषणा गरिनेछन्।
मिसेस नेपाल वर्ल्ड विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यसअघि यो उपाधि दिक्षा केसी (२०२१), पृथ्वीया थापा (२०२३) र डेनिला कार्की (२०२४) ले जितेका थिए। पृथ्वीया थापाले मिसेस वर्ल्डमा ह्युम्यानिटेरियन अवार्ड समेत हासिल गरेकी थिइन्।
आयोजक रिबन इन्टरटेनमेन्ट प्रालि का अध्यक्ष निशुकान्त झा का अनुसार, प्रतियोगिता महिला सशक्तीकरण, आत्मविश्वास, सामाजिक नेतृत्व र प्रतिभा प्रदर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
अफिसियल कोरियोग्राफर आश्विनीकान्त झा ले यस वर्षको संस्करणले मिसेस नेपाल वर्ल्डलाई अन्तर्राष्ट्रिय स्तरमा झनै प्रभावशाली रूपमा चिनाउने विश्वास व्यक्त गरे।
यो वर्षको प्रतियोगिताको कोरियोग्राफी सन्दीप भुजेल ले गरिरहेका छन् भने समन्वय सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गर्दै आएका छन्।









