काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी निर्माणमा अपेक्षित रूपले योगदान दिन नसकिएको बताउँदै पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्। महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा परियारले ‘पार्टीभित्र निरन्तर उठाइएका विचार स्थापना हुन नसक्दा’ आफूले त्यसलाई व्यक्तिगत कमजोरीको रूपमा लिएको उल्लेख गरेका छन्।
परियारका अनुसार पार्टीमा रहेर उनले पार्टी र देशको हितमा इमानदार प्रयास गरे पनि नेपाली समाजको विशिष्ट चरित्रअनुसारको वैचारिक संरचना बनाउन नसकिएकोमा आफू दुःखी छन्। उनका भनाइमा, “नेपाली समाज अनुसारको पार्टीको विचार निर्माणमा सफल हुन नसकिएकोले म आत्मग्लानीमा छु।”
जेन–जेड विद्रोहले पुरानो राजनीतिक संरचना हल्लाइदियो
२०७९ भदौ २३ र २४ गतेको जेन–जेड विद्रोहलाई उनले नेपाली राजनीतिको परम्परागत जडतालविरुद्धको निर्णायक मोड भनेका छन्। विद्रोहले यथास्थितिमा आधारित राजनीति अब अगाडि बढ्न नसक्ने र नवयुगको नेतृत्व पुराना प्रवृत्तिले वहन गर्न नसक्ने प्रमाणित भएको परियारको धारणा छ।
उनका अनुसार जेन–जेड आन्दोलनले नेपाली समाजमा चेतना निर्माणको नयाँ मार्ग खोलेको छ र यसले राजनीतिक शक्ति पुनर्संरचनाको नयाँ बहसलाई आवश्यक बनाइदिएको छ।
‘नेपाली राजनीति पुनर्संरचनाको ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्तामा’
राजीनामासँगै परियारले आगामी राजनीति अझ फराकिलो दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। उनले नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन अब अपरिहार्य भएको उल्लेख गरेका छन्।
बदलिँदो परिस्थिति र नयाँ पुस्ताको आकांक्षालाई आत्मसात् गर्दै राष्ट्रहित र जनजीवनसँग प्रत्यक्ष जोडिने नयाँ अभियानमा सक्रिय हुने मनस्थिति बनाएको परियारले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्।










