जनकपुरधाम – मधेश प्रदेशका नव–नियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई सात दलिय गठबन्धनका नेता, संसदीय दलका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा भेट गरी प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे ध्यानाकर्षण गराएका छन्।
नेता जितेन्द्र सोनलसहित गठबन्धनका अन्य वरिष्ठ सदस्यहरूले प्रदेश प्रमुख कर्णलाई औपचारिक रूपमा स्वागत गर्दै प्रदेशभित्र उत्पन्न असामान्य र चुनौतीपूर्ण राजनीतिक परिस्थितिबारे विस्तृत जानकारी प्रदान गरे।
सभामुखकै निर्देशनमा ‘अप्रिय घटना’ घटेको दाबी
प्रतिनिधिमण्डलले हालै प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलकै निर्देशनमा अभद्र व्यवहार, अवरोध र तनावपूर्ण गतिविधि भएको आरोप लगाएको छ।
नेताहरूले यस्ता घटनाले प्रदेशसभा सदस्यहरूबीच भय–त्रासको वातावरण सिर्जना गरेको र प्रदेशसभाको मर्यादा गम्भीर रूपमा प्रभावित भएको बताएका छन्।
पूर्व प्रदेश प्रमुखको निर्णय ‘असंवैधानिक’ रहेको गुनासो
गठबन्धनका नेताहरूले पूर्व प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले गरेको मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको दाबी गर्दै यसले मधेश प्रदेशमा दीर्घकालीन राजनीतिक तनाव उत्पन्न गरेको उल्लेख गरे।
उनका अनुसार यो कदमले प्रदेशको संवैधानिक अभ्यास, बहुमतको सिद्धान्त र राजनीतिक स्थिरतामाथि प्रश्न उठाएको छ।
पाँच प्रदेशसभा सदस्यको निलम्बन विवादको केन्द्रमा
प्रतिनिधिमण्डलले सभामुख मण्डलले ‘रिसको झोकमा’ पाँच जना प्रदेशसभा सदस्यलाई असंवैधानिक रूपमा निलम्बन गरेको दाबी गरेको छ।
यसबाहेक, सभामुखले एमालेका कार्यकर्तालाई परिचालन गरी प्रदेशसभा सदस्यहरूमाथि अभद्र व्यवहार गराएको आरोप पनि लगाइएको छ।
‘राजनीतिक स्थिरता र संविधान पालनामा प्रदेश प्रमुखको भूमिका निर्णायक’
नेताहरूले प्रदेशसभामा उत्पन्न अव्यवस्था, असुरक्षा र तनाव अन्त्य गर्न प्रदेश प्रमुखले संविधानअनुसार ठोस कदम चाल्नुपर्ने अपेक्षा व्यक्त गरे।
उनले प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको मर्यादा, विधिसम्मत प्रक्रिया र सुरक्षित वातावरण सुनिश्चित गर्न माग पनि राखे।
प्रदेश प्रमुख डा. कर्णले ध्यानाकर्षण गराइएका विषयहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी संवैधानिक दायरा र प्रक्रियाअनुसार आवश्यक पहल गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ।









