काठमाडौँ – नेपालका लागि चीनका राजदूत छन सङले आसन्न आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनले नेपाल सरकारलाई आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
द्विपक्षीय सहयोग, व्यापार, लगानी तथा ‘बेल्ट एण्ड रोड’ (बिआरआई) परियोजनाको प्रगतिबारे काठमाडौँमा आयोजित छलफलकाक्रममा जानकारी दिंदै राजदूत छनले नेपाल–चीन विकास साझेदारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए।
बिआरआई परियोजनामा प्रगति, स्थायी सरकारपछि गति बढ्ने
राजदूत छने बिआरआई अन्तर्गतका अधिकांश परियोजना प्रशासनिक प्रक्रियामा रहेकाले ती छिट्टै कार्यान्वयन चरणमा प्रवेश गर्ने जानकारी दिए।
“नेपालमा व्यापार, लगानी र औद्योगिक पार्क निर्माणमा राम्रो प्रगति देखिएको छ। केही आयोजनामा देखिएको ढिलाइ स्वाभाविक हो,” उनले भने।
उनका अनुसार आगामी निर्वाचनपछि बन्ने स्थायी सरकारबाट परियोजनाहरू द्रुतगतिमा अघि बढ्नेछ।
नेपाल–चीन आर्थिक सहकार्य विस्तार
राजदूतले चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाले नेपालसहित छिमेकी मुलुकका विकास आवश्यकताहरू लक्षित गरेको जानकारी दिए।
उनका अनुसार नेपालका कृषि उत्पादलाई चिनियाँ बजारमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ, जसले दुवै देशका कृषक तथा उद्योग क्षेत्रलाई लाभ पुर्याउनेछ।
नेपालको स्थिरता र समृद्धि नै चीनको प्राथमिकता
राजदूत छने नेपालको राजनीतिक स्थिरता, विकास र समृद्धि नै चीनको मूल चाहना रहेको बताए।
नेपालमा सुस्त गतिमा भइरहेको विकासलाई तीव्रता दिन दीर्घकालीन रणनीतिक साझेदारी आवश्यक रहेको उल्लेख गर्दै उनले चीनले निरन्तर सहकार्य विस्तार गरिरहेको स्पष्ट पारे।
‘एक चीन’ सिद्धान्तप्रति नेपालप्रतिको आभार
ताइवान, हङकङ र मकाउ चीनका अभिन्न भूभाग भएको मान्यताप्रति नेपालले निरन्तर समर्थन जनाइरहेकामा उनले धन्यवाद व्यक्त गरे।
अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशबीचको सहकार्य सुदृढ रहेको र संयुक्त राष्ट्र संगठनलाई केन्द्रमा राखेर दुवैले बहुपक्षीय प्रणालीलाई समर्थन गरेको भन्दै चीन–नेपाल सम्बन्ध ‘सधैँ सुमधुर र स्थिर’ रहेको उनले टिप्पणी गरे।









