काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुबै संगठनमा एउटै ‘ब्याच’का अधिकृत शीर्ष नेतृत्वमा पुगेका छन्। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका इन्स्पेक्टर जनरल (आईजी) राजु अर्याल २०५४ सालमा एकैदिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका अधिकारी हुन्। २०५४ सालमा नेपाल प्रहरीले २९ जना इन्स्पेक्टर भर्ना गरेको थियो, तीमध्ये कार्की र अर्याल आज देशका दुई फरक सुरक्षा निकायको सर्वोच्च कमाण्ड सम्हालिरहेका छन्।
सोही ब्याचका मनोजकुमार केसी, राजन अधिकारी र ईश्वर कार्की नेपाल प्रहरीमा एआईजी पदसम्म उक्लिएका छन्। त्यस्तै सशस्त्र प्रहरी बलमा नारायणदत्त पौडेल र बंशिराज दाहाल एआईजीका रूपमा कार्यरत छन् र राजु अर्यालपछि संगठनको नेतृत्वमा पुग्ने सम्भावित दाबेदारका रूपमा हेरिन्छन्। २०५४ सालमै इन्स्पेक्टर बनेका राजु अर्याल, नारायणदत्त पौडेल, बंशिराज दाहाल, शम्भु सुवेदी र लोकनाथ घिमिरे २०५८ सालमा सशस्त्र प्रहरीमा डिएसपीका रूपमा स्थानान्तरण भएका थिए। अहिले अर्याल आईजी, पौडेल र दाहाल एआईजी र सुवेदी डिआईजीका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्, जबकि लोकनाथ घिमिरे सेवा छाडेर बाहिरिसकेका छन्।
नेपाल प्रहरीतर्फ दानबहादुर कार्की आईजी बनेपछि मनोजकुमार केसी, राजन अधिकारी र ईश्वर कार्की एआईजी पदमा कार्यरत छन्। त्यसै ब्याचका राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराल र दीपक रेग्मी हाल डिआईजी पदमा छन्। करिअरको प्रगति र नेतृत्व भूमिकामा उनीहरूको उपस्थिति हेर्दा २०५४ को ब्याच नेपाली सुरक्षातन्त्रमा अत्यन्त प्रभावशाली देखिएको छ।

यसै ब्याचका केही अधिकारी भने सेवा छाडेर अन्य क्षेत्रमा लागेका छन्। राधिका खड्का, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, सुरेशराज भट्टराई, राजेन्द्रकुमार सुनुवार, चन्द्रप्रकाश पोखरेल, रविराज खड्का, गोविन्दप्रसाद आचार्य, लोकेन्द्र श्रेष्ठ र किसनसिंह थापा प्रहरी सेवाबाट अलग भइसकेका छन्। १११औँ ‘ब्याच’का इन्स्पेक्टर हरिशचन्द्र ढकालले राजीनामा दिएर प्रशासन सेवामा प्रवेश गरेका हुन्। उनी अहिले अर्थ मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन्। सोही ‘ब्याच’का बसन्तकुमार थापाको सेवाक्रममै मृत्यु भएको थियो भने दीपक खरेलको द्वन्द्वकालमा निधन भइसकेको छ।
दुवै संगठनमा उक्त ब्याचका अधिकारीहरूको विद्यमान प्रभाव उल्लेखनीय छ। सशस्त्र प्रहरीमा ४ र नेपाल प्रहरीमा ६० जना सोही ब्याचका अधिकृत अहिले विभिन्न उच्च पदमा कार्यरत छन्। यी अधिकारीहरूको समष्टिगत नेतृत्व र अनुभवले नै हाल दुवै सुरक्षा निकाय सञ्चालनमा निर्णायक भूमिका खेलेको मानिन्छ।









