बिहार – बिहार विधानसभा चुनावको नतिजा आइसकेको छ। राज्यको २४३ सिटमध्ये २०२ सिट जितेर एनडीएले ऐतिहासिक बहुमत हासिल गरेको छ। राष्ट्रिय जनता दल (आरजेडी), भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस) र अन्य दलहरूको महागठबन्धनले भने ठुलो र अप्रत्याशित हार बेहोरेको छ।
विगत केही दशकदेखि बिहार कंग्रेसका लागि राजनीतिक रूपमा धेरै कठिन रहँदै आएको छ। सन् २०१५ मा पार्टीले २७ सिट जितेको थियो भने २०१० मा केवल चार सिटमा सीमित भएको थियो। यसपटक केवल छ सिट जित्नुको अर्थ प्रत्येक दस उम्मेदवारमध्ये एक जनाले मात्र चुनाव जिते।
विश्लेषकहरूका अनुसार कंग्रेसको यो कमजोर प्रदर्शन अप्रत्याशित भए पनि यसको सङ्केत चुनावी अभियानको समयमा नै देखिएको थियो। सन् १९९० देखि बिहारमा कंग्रेसको मुख्यमन्त्री छैन र पार्टी धेरैजसो समय सत्ता बाहिर रह्यो।

चुनावी नतिजापछि कंग्रेससँग सम्बन्धित अधिकांश नेताहरूले यो नतिजाको लागि निर्वाचन आयोगलाई जिम्मेवार ठहराएका छन्। कंग्रेस प्रवक्ता पवन खेडाले ‘यो चुनाव बिहारका जनता विरुद्ध निर्वाचन आयोगको हो’ भनेका छन् भने दिग्विजय सिंहले ‘यो सम्पूर्ण खेल नक्कली मतदाता सूची र नक्कली ईभीएमको बारेमा हो’ भनेका छन्। भूपिन्दर हुड्डाले भने यो हार अप्रत्याशित भएको र कारणहरूको समीक्षा गर्ने बताएका छन्।
यद्यपि, विश्लेषकहरूले कंग्रेसको यो कमजोर प्रदर्शनको कारण सामाजिक आधारको अभाव, कमजोर संगठन, गठबन्धनसँग समन्वयको अभाव र उम्मेदवार छनोटमा लापरबाही रहेको बताएका छन्।
१. कमजोर सामाजिक आधार
बिहारमा कंग्रेसको बलियो सामाजिक आधार छैन र यो पार्टीको खराब नतिजाको सबैभन्दा ठुलो कारण रहेको विश्लेषकहरू विश्वास गर्छन्। वरिष्ठ पत्रकार सुरुर अहमद भन्छन्, ‘कंग्रेसको बलियो सामाजिक आधार छैन। माथिल्लो जातले पहिले नै पार्टी छोडिसकेका छन्, र पिछडिएका जातहरू पनि पार्टीमा सामेल भएका छैनन्।’ उनी कंग्रेस विचारधारामा आधारित पार्टी भए पनि बिहारको राजनीतिमा जात र सामाजिक गतिशीलताको प्रभुत्व रहेको बताउँछन्।

प्रभात खबरका प्रदेश प्रमुख अजय कुमारका अनुसार कंग्रेसले बिहारमा आफ्नो कमजोर समर्थन आधारलाई पुनः एकताबद्ध गर्न कुनै गम्भीर प्रयास गरेको छैन। राहुल गान्धीले लोकसभा चुनावको समयमा दलित र ईबीसी जातिहरूसँग जोड्ने प्रयास गरे पनि यो चुनावमा त्यो प्रयास असफल भएको अजय कुमार बताउँछन्।
पत्रकार नचिकेता नारायणका अनुसार राहुल गान्धीले चुनावको दुई महिना अगाडि पिछडिएका वर्ग सम्बन्धी प्रस्ताव जारी गरे पनि पार्टीले त्यसको प्रचार नगर्दा पिछडिएका जातिहरूमाझ पार्टीको पकड कमजोर रह्यो।
२. वैचारिक चुनौतीहरू
भाजपाको बलियो हिन्दुत्वको एजेन्डा छ र यसले पछिल्लो दशकमा धेरै चुनाव जितेको छ। सुरुर अहमद भन्छन्, ‘कंग्रेसको अगाडि एउटा ठुलो चुनौती भनेको मानिसहरू यसको विचारधारासँग जोडिन असमर्थ हुनु हो। बिहारका जनताले कंग्रेसको विचारधारा र रणनीति दुवैलाई अस्वीकार गरेका छन्।’ उनी यो चुनौती बिहारमा मात्र सीमित नभएको र कंग्रेसले गहिरो सोच्न आवश्यक रहेको बताउँछन्।

विश्लेषकहरू सामाजिक सञ्जाल र सूचना विस्फोटको यस युगमा मानिसहरू भावनात्मक रूपमा बढी प्रभावित भएको विश्वास गर्छन्। सुरुर अहमद भन्छन्, ‘कंग्रेस र विश्वभरका अन्य वामपन्थीदेखि केन्द्रसम्मका दलहरूले यो चुनौतीको सामना गरिरहेका छन्। तिनीहरू मानिसहरूसँग भावनात्मक रूपमा जोडिन वा दक्षिणपन्थी दलहरूले जस्तै उनीहरूको भावनालाई प्रभाव पार्न असमर्थ छन्।’
३. कथा सिर्जना गर्न असफल
बिहार विधानसभा चुनावमा कंग्रेसले बेरोजगारी, सामाजिक न्याय, आरक्षण, नि:शुल्क बिजुली जस्ता मुद्दाहरू घोषणापत्रमा समावेश गरे पनि पार्टीको चुनावी अभियान बिहार मतदाता सूचीको विशेष संशोधन र ‘मत चोरी’ जस्ता मुद्दाहरूले हावी भयो।
बिहारका जनता मत चोरीका मुद्दाहरूसँग जोडिन सकेनन् र कंग्रेस पार्टी प्रभावकारी कथा सिर्जना गर्न असफल भएको विश्लेषकहरू विश्वास गर्छन् । पत्रकार नचिकेता नारायण भन्छन्, ‘भोट चोरीलाई चुनावी मुद्दा बनाउने कुरा बिहारका जनताले बुझेनन् र यसले कथा निर्माणमा समस्या सिर्जना गर्यो।’

अजय कुमार पनि कंग्रेस बिहारमा आफ्नै कथा सिर्जना गर्न सफल नभएको बताउँछन्। अर्कोतर्फ, एनडीए गठबन्धनले लालु यादवको शासनकालमा भएको कथित ‘जंगल राज’ लाई आफ्नो कथाको आधार बनायो। सुरुर अहमद भन्छन्, ‘कंग्रेस र महागठबन्धनका दलहरू कथाको लडाईंमा हारे।’
४. गठबन्धनसँग समन्वयको अभाव
बिहार चुनावमा एनडीए बलियो बन्दै गइरहेको बेला महागठबन्धनका प्रमुख दलहरू कंग्रेस र आरजेडीबिच समन्वय र विश्वासको अभाव देखिन्थ्यो। अजय कुमार भन्छन्, ‘बिहारमा, कंग्रेस पार्टीले न त आफ्नो संगठन बलियो बनाउने कुरामा ध्यान दियो न त गठबन्धनसँग समन्वय गर्ने कुरामा।’

सुरुर अहमदका अनुसार कंग्रेस र आरजेडीबिचको गठबन्धनको बारेमा उत्पन्न भ्रमले पनि नतिजामा प्रभाव पारेको हुन सक्छ। यद्यपि, उनी कंग्रेस महागठबन्धनबाट अलग भएको भए अवस्था झनै खराब हुन सक्ने बताउँछन्। नचिकेता नारायणका अनुसार, ‘कंग्रेस र यसका सहयोगीहरू बिच समन्वयको अभाव एउटा प्रमुख कारक थियो। धेरै सिटहरूमा मैत्रीपूर्ण ‘झगडा’ भयो, जुन चुनावी रणनीतिका लागि हानिकारक छ।’
५. कमजोर संगठन र उम्मेदवारहरूको छनोट
बिहारमा कंग्रेस पार्टीमा बलियो कार्यकर्ता वा समर्पित कार्यकर्ताको अभाव छ र पार्टी हालका वर्षहरूमा संगठनात्मक रूपमा अझ कमजोर भएको विश्लेषकहरूको भनाई छ । सुरुर अहमद भन्छन्, ‘कंग्रेस भित्रको पार्टी संरचना बलियो छैन… कंग्रेससँग बिहारमा आरजेडी वा उत्तर प्रदेशमा समाजवादी पार्टी जस्ता समर्पित कार्यकर्ताहरू छैनन्।’
अजय कुमार पनि कंग्रेसले क्षेत्रीय दलहरू बिनाका राज्यहरूमा बलियो संगठन निर्माण गरे पनि बिहार जस्ता राज्यहरूमा बलियो क्षेत्रीय दलहरू भएकाले संगठन निर्माण गर्न धेरै हदसम्म असफल भएको बताउँछन्। यसैबिच, पत्रकार नचिकेता नारायणको विचारमा कंग्रेसका उम्मेदवारहरूको छनोट पनि शंकास्पद थियो।
बीबीसी









