काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहेको बताएकी छन्।
अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।’
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले तयारी गरिरहेको उनको भनाइ छ। उनले भनिन्,’हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको उक्त कार्यक्रममा उनले अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई अत्यन्त मूल्यवान भन्दै कृतज्ञता पनि व्यक्त गरिन्।
नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन्।









