जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर विवाद गहिरिँदै जाँदा सात दलीय गठबन्धनका सांसदहरू आइतबार पनि सडकमै धर्नामा बसेका छन्। नेपाली कांग्रेससहित सात दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि बाटो अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमै वैकल्पिक बैठक संचालन गरेका थिए।
गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमै शपथ गराएपछि सात दलले निरन्तर विरोध गर्दै आएका छन्।
मुख्यमन्त्री नियुक्ति खारेजी माग गर्दै गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग प्रस्तावसमेत प्रदेश सभामा दर्ता गरिएको छ।









