images
images

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न केपी ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई बुधबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका हुन्। उनले दुर्गा प्रसाईँलाई राति समातेका पनि सरकारको आलोचना गरे।

उनले भेलामा भने- ‘बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो।’

दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा सरकारले उनलाई रातारात पक्राउ गरेको ओलीको आरोप थियो।

ओलीले सरकारलाई चुनौती दिँदै भने-  ‘दुर्गा प्रसाईंले एउटा भिडियो निकाले । दिउँसो निस्कियो, बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन ?’  अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने ओलीले बताए।

‘भएको भिडियो बाहिर ल्याउनु अपराध हो?  राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो । तमासा गरिरहेको छ यो सरकारले,’ उनले भेलमा भने।

सरकारले सोमबार मध्यरातमा घरमा सुतिरहेकै बेला भक्तपुरस्थित निवासबाट प्रसाईँलाई पक्राउ गरेको थियो।