images
images

एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने भएको छ।

 

 

योसँगै परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।

सम्झौतानुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर लगानी हुनेछ। एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनालाई पूर्णता दिन महत्त्वपूर्ण टेवा पुर्‍याउने बताइएको छ। यसले ऊर्जा ग्रिडको सुदृढीकरण, उत्पादन–प्रसारण–व्यापार शृंखलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अनुदानले नेपाललाई अन्ताराष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप मजबुत बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता तथा प्रविधिको उपयोग बढाउने उल्लेख छ। योसँगै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसरसमेत विस्तार हुने बताइएको छ।

अमेरिकी दूतावासले यो सहायता नेपाल–अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीकका रूपमा अर्थ्याएको छ। एमसीसी कम्प्याक्ट ऋणरहित, अनुदानमा आधारित उच्च प्रभावयुक्त पूर्वाधार निर्माणमा केन्द्रित कार्यक्रम भएकाले दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा सुरक्षामा यसको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

अमेरिकी दूतावासले विज्ञप्तिमार्फत भनेको छ‚ ‘यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्छ। दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन्। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ।’

मसीसीले नेपालमा लागू भएको दुई वर्ष बित्न लाग्दा प्रभावकारी रूपमा काम भने हुन सकेको छैन। दुवैतर्फबाट खर्च गर्ने भनेर छुट्याइएका बजेट न्यून खर्च भइरहेका छन्। यसले परियोजना समयमै सकिनेमा आशंका उब्जिएको छ।