images
images

जेनजीले एमालेको कार्यक्रममा अवरोध नगरेको जेनजी मधेश संयोजकको दाबी

काठमाडौँ – जेनजी मधेश प्रदेश संयोजक शिव यादवले बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको बताएका छन्।

यादवका अनुसार, जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका युवाहरू कुटपिटमा परेका र यस क्रममा दर्जनौं घाइते भएका छन्।

शिव यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र भएको बताएका छन्। उनले भनाए, “सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम चलिरहेको थियो, तर परवानीपुरस्थित एमाले कार्यक्रमबाट परिचालितहरूले कार्यक्रम भाँडेका हुन्। जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्छ।”

यादवले यस घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै उनलाई मधेशमा निषेध गर्न र संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले थपे, “मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ। यसले मधेशको शान्ति सुरक्षामा खलल पुर्‍याएको छ। यस विषयमा संवेदनशीलता अपनाएर कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई अनुरोध गर्दछु।”