काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरहेको उल्लेख गरे ।
‘तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ,’ उनले भने ।
उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए । निर्वाचनको लागि सरकारले १२३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रियसभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रियसभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाइरहेका छौँ । म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडि बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हाम्रा अगाडि । यो बाटोमा अगाडि बढाउने कुराहरूमा माननीयज्यूहरूको, सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।
उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।








