images
images

लोसपा सांसद महतोको आरोप: “सभामुख मण्डल पार्टीका कार्यकर्ता जस्तै चले– निष्पक्ष हुन सकेनन्”

जनकपुरधाम – मधेस प्रदेशसभामा जारी छलफलका क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद उपेन्द्र महतोले सभामुख रामचन्द्र मण्डलमाथि गम्भीर आरोप लगाएका छन्। सभामुखविरुद्ध दर्ता भएको आचरणविरुद्धको प्रस्तावमाथि बोल्दै महतोले मण्डलले पार्टीगत स्वार्थअनुसार काम गर्दै प्रदेशसभाको मर्यादामाथि असर पारेको दाबी गरे।

सांसद महतोका अनुसार सभामुख मण्डल “पार्टीका कार्यकर्ताका जस्तै शैलीमा” चल्दै आएका छन् र सबै दलका सांसदप्रति समान व्यवहार गर्न असफल भएका छन्। उनले भने, “सभामुख मण्डल पार्टीको हिसाबले चल्नुहुन्छ। उहाँ प्रदेशसभाको सभामुखका रूपमा निष्पक्ष हुन सक्नुभएको छैन।”

छलफलका क्रममा महतोले मधेस प्रदेशका तत्कालीन सचिव मनोज गिरीमाथि भएको कुटपिट घटना पनि स्मरण गरे। उनले आरोप लगाउँदै भने, “गिरीलाई यही प्रदेशसभामै मरासन्न हुनेगरी कुटिएको थियो। उनी भाग्दै जाँदा बर्दिबासमा प्रहरी लगाएर गाडीबाट उतारेर बाटैमा छोडिएको थियो। यो के मानवताको गुण हो?”

महतोले सदनको आजको बैठकमा आफ्नो लाइनसमेत काटिएको दाबी गर्दै सभामुखले “कर्मचारी भर्ना नगरी गुण्डा भर्ना गरेको” आरोप लगाए। बजेट प्रक्रियामा समेत सभामुखले बार्गेनिङ गर्ने गरेको भन्दै उनले भने, “आफ्नो क्षेत्रमा बजेट नदिए बजेट पास हुन नदिने चेतावनी दिने गरी सभामुख आफैँले सदन आतंकित पार्ने प्रवृत्ति देखाएका छन्।”

सभामुख मण्डलले महतोको आरोपबारे भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ।