काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। गत असोज २८ गतेदेखि निरन्तर जारी आएको बैठकले महाधिवेशनको मिति निर्धारणमा सहमति जुटाउन नसकिरहेको अवस्थामा पुनः बस्न लागेको हो।
गत बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले आफ्नो–आफ्नो धारणा राखे पनि महाधिवेशन कहिले गर्ने भन्ने विवाद समाधान हुन सकेको छैन।
विवाद मिलाउने उद्देश्यले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक रोकी अनौपचारिक छलफल गरेका थिए। तर क्रमशः शुक्रबार, शनिबार र सोमबारका लागि सारिएको बैठकमा सहमति नजुटेपछि अन्ततः आज पुनः बैठक बस्न लागिएको हो।
पार्टीभित्र हाल महाधिवेशनको मिति सम्बन्धी दुई धार स्पष्ट रूपमा देखिएका छन्। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दुवै पक्ष आ–आफ्नै अडानमा अडिग छन्। उनकाे भनाइमा, महामन्त्रीहरूले आगामी निर्वाचनभन्दा पहिले नै महाधिवेशन गर्नुपर्छ भन्ने धारणा राखिरहेका छन् भने संस्थापन पक्ष भने निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ।
कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका पेस गरेका थिए।
एक समूहमार्फत थापाको प्रस्ताव र अर्को समूहमार्फत यादवको प्रस्ताव समर्थन पाउँदा विवाद झन् चर्किएको हो।








