बारा – बाराको सिमरामा जेनजी युवाहरू र नेकपा एमालेका नेता–कार्यकर्ताबीचको विवादका कारण उत्पन्न तनाव बिहीबार पनि जारी रहेको छ। बुधबार दिनभर उत्पन्न तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको थियो। बेलुकीतिर स्थिति केही शान्त भए पनि बिहीबार बिहानदेखि फेरि वातावरण तनावग्रस्त बनेको छ।
बिहीबार बिहान १० बजेदेखि जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्दै आएका छन्। आफूहरूमाथि कुटपिट गरेको आरोपित एमाले नेता तथा कार्यकर्तालाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शनलाई तीव्रता दिएका छन्।









