images
images

सुदन गुरुङको चेतावनी—“जेन जेडमाथिको दमन दोहोरिए जनआन्दोलन उर्लिन्छ”

काठमाडौँ – ‘द काउन्सिल अफ जेन जेड’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई कम आँक्न नदिन चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत मध्यरातमा सार्वजनिक गरेपछि गुरुङका अभिव्यक्तिहरू राजनीतिक वृतमा व्यापक चर्चामा छन्।

गुरुङले हिजो सिमरामा जेन जेडसम्बद्ध शान्तिपूर्ण कार्यक्रममा एमाले निकट समूहले प्रवेश गरी अपमान र कुटपिट गरेको घटना गृहमन्त्रीको कमजोर हस्तक्षेपका कारण भएको आरोप लगाए। उनका अनुसार शान्तिपूर्ण कार्यक्रममै संघबद्ध व्यक्तिहरू उच्छृङ्खल रूपमा सहभागि भएपछि अवस्था बिग्रिएको हो।

उनले गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्दै आफू सडक आन्दोलनको बलिदान, म्यान्डेट र जेन जेड युवाहरूको योगदानबाट मन्त्री बनेको तथ्य बिर्सिएको टिप्पणी गरे। साथै भ्रष्टाचार, अपराध र हत्यामा संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकार असफल भएको आरोप पनि उनले लगाए।

गुरुङका अनुसार यदि सरकार जेन जेड आन्दोलनमा सहभागी युवामाथि हुने दमन, कुटपिट र अन्यायमा मौन बसेर उनीहरूलाई नै पक्राउ गर्ने प्रवृत्ति निरन्तर दोहोर्याइने हो भने आफूले “मलाई पनि पक्राउ गर” अभियान सुरु गर्नेछन्।

उनले सरकारलाई सचेत गराउँदै भने, हत्यारा र उच्छृङ्खल समूहहरू खुल्लै धम्की दिँडै हिंड्दा सरकारले उचित कदम नचाले आन्दोलन अझ ठूलो रूप लिन सक्छ। उनका अनुसार अहिले देखिएको प्रतिक्रिया सम्भावित जनआन्दोलनको केवल एक संकेत मात्र हो।

पछिल्लो समय गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक र राजनीतिक तहमा चर्को आलोचना सुनिँदै आएको छ।