काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्ने जनाइएको छ।
बैठक बाराको सिमरामा उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको हो। यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद् बैठक बसेको थियो।
सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए। एमाले नेताहरू सिमरा जान लाग्दा विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो।
आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ फेरि कर्फ्यू जारी गरिएको छ। उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन पनि दिएको छ।








