images
images

भारतीय दूतावासको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

काठमाडौं – लुम्बिनी प्रदेशको प्युठानस्थित ऐरावती गाउँपालिका–१, अमिलीमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित दाङवाङ माध्यमिक विद्यालय तथा छात्रावास भवनको औपचारिक उद्घाटन गरिएको छ । भवनको संयुक्त उद्घाटन बुधबार भारतीय दूतावास काठमाडौंकी काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले गरे ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदानमा विद्यालय भवन, छात्रावास तथा सम्बन्धित पूर्वाधार निर्माण गरिएको हो । परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । श्री दाङवाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण क्षेत्रका अग्रणी सरकारी विद्यालयमध्ये एक हो, जसले ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म २३४ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ । तीमध्ये झन्डै ६० प्रतिशत विद्यार्थी छात्रा रहेका छन् ।

WhatsApp-Image-2025-11-20-at-1.26.50-PM-1763627492.jpeg
विद्यालय व्यवस्थापन, स्थानीय सरोकारवाला र ऐरावती गाउँपालिकाका अध्यक्षले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नवीन पूर्वाधारले विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउने विश्वास व्यक्त गरे । उनका अनुसार, नवनिर्मित संरचनाले सिकाइ वातावरणलाई अझ अनुकूल बनाउने र शिक्षा क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउनेछ ।

भारत र नेपालबीच दीर्घकालदेखि सुसम्बन्ध तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिले उच्च प्रभाव सामुदायिक विकास परियोजनाका गतिविधिले नेपाल सरकारका विकास तथा समृद्धिका प्रयासलाई अझ मजबुत बनाउन भारत सरकारको निरन्तर प्रतिबद्धता प्रतिविम्बित भएको जनाइएको छ ।