काठमाडौं – स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो। तर, जेनजी युवाहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन्।
बाराका प्रशासनिक अधिकारीहरूले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्तामा बोलाएका थिए। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा वार्ता तय गरेका थिए। तर, जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएको जनाइएको छ।
जेनजी अगुवा उपाध्यायका अनुसार, वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नु आवश्यक रहेको छ। युवा संघका नेता साहमाथि बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ र उनी अहिलेसम्म फरार छन्।









