images
images

“सुशासन कहाँ हरायो?”— जेन–जी फ्रन्टकी रक्षा बमको कडा माग, प्रमुख स्वकीय सचिव तत्काल पदमुक्त गर्न आग्रह

काठमाडौँ – नेपाल जेन–जी फ्रन्टकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशासन सरकारकी प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन् ।

उनले आफ्नी श्रीमतीसहित परिवारका सदस्य तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको तथ्य बाहिर आएपछि सबै नियुक्ति खारेज गर्न दबाब दिएकी हुन् । जेन–जी विद्रोहको भावना र बलमा बनेको वर्तमान नागरिक सरकारको संवेदनशील अवस्थामै नातावाद र कृपावादलाई प्रश्रय दिइएको खुलासा भएपछि नेता बमले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै यस्तो कार्य पूर्ण रूपमा जेन–जी विद्रोहको मर्म, जनम्यान्डेट र सुशासनको मूल मूल्यबोधविरुद्ध रहेको बताएकी छन् । उनले ‘सुशासन र जवाफदेहीताको नारामा बनेको सरकारमा पुनः नातावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?’ भन्दै प्रश्न उठाउँदै राज्य संयन्त्रभित्रका यस्ता विकृति, मनपरी र स्वेच्छाचारिताको पुनरावृत्ति तत्काल रोक्न सरकारलाई सचेत गराएकी छन् ।

बमले ‘जेन–जी विद्रोह वर्षौँदेखि जरा गाडेर बसेका यस्ता प्रथाविरुद्धको आन्दोलन हो, त्यसैले प्रधानमन्त्री कार्यालयमा देखिएको नातावादले फेरि एक पटक संस्थागत कमजोरी उजागर गरेको छ’ भन्दै फ्रन्टले यस्ता गतिविधिको घोर भर्त्सना गर्ने उल्लेख गरेकी छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न, सचिवालयमा भएका सबै नातावादी तथा कृपावादी नियुक्ति खारेज गर्न, र प्रधानमन्त्री तथा मन्त्रीहरूको स्वकीय सचिवालयमा कार्यरत सबै व्यक्तिको पद, विवरण र जिम्मेवारी सार्वजनिक सूचना पाटी तथा सरकारी वेबसाइटमा राख्न कानूनी व्यवस्था गर्न माग गरेकी छन् ।

उनका अनुसार जेन–जी विद्रोहको म्यान्डेट नातावाद, कृपावाद वा मनपरी होइन, पारदर्शिता र न्यायोचित प्रक्रिया हो, र यसको प्रतिकूल हुने गरी राज्य संयन्त्रमा भएका कुनै पनि विकृतिका विरुद्ध फ्रन्ट सधैँ संगठित रूपमा उभिनेछ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरह स्वकीय सहसचिव, नातेदार कमला श्रेष्ठलाई स्वकीय सहसचिव, तथा प्रशासन सहायक (नासु सरह) मा पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई नियुक्त गरेको विषयलाई लिएर व्यापक आलोचना भइरहेको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा श्रेष्ठको मोबाइल फोन बन्द रहेको जनाइएको छ ।

पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएको, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएको र नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि नियुक्त गरेको भन्दै प्रमुख स्वकीय सचिव श्रेष्ठको आलोचना भई रहेको छ । यसबारे उनको भनाई लिन खोज्दा मोबाइल अफ छ ।