images
images

सञ्चारकर्मी दीपेन्द्र खनियाको मृत्युप्रति महासंघको दु:ख व्यक्त

काठमाडौँ– वरिष्ठ सञ्चारकर्मी दीपेन्द्र खनिया आइतबार काठमाडौँ १० बानेश्वरस्थित निवासमा मृत फेला परिएका छन्। उनको आकस्मिक निधनप्रति नेपाल पत्रकार महासंघले गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।

सोमबार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महासंघ स्वर्गीय खनियाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ।”

खनिया रेडियो अडियोका संस्थापक थिए र झण्डै दुई दशकभन्दा बढी रेडियो पत्रकारितामा सक्रिय थिए। उनले कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा लगायतका सञ्चारमाध्यममा समेत योगदान दिएका थिए।

उनको निधनले नेपाली सञ्चार जगतमा ठूलो क्षति पुगेको महासंघले जनाएको छ।