काठमाडौँ – कांग्रेसको महाधिवेशन गर्ने समय विवादित रहँदै आएको छ। हालै निर्वाचन आयोगमा माघ ११ र फागुन २१ का लागि सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षरसहित दल दर्ता भएपछि विवाद झन् बढेको छ।
कांग्रेस महामन्त्री गगन थापाले निर्वाचनअगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्वबाट टिकट वितरण हुने स्पष्ट पारेका छन्। महामन्त्री थापाका अनुसार निर्वाचनअगाडि विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चुनाव लडिनेछ। उनले भने, “नियम अनुसार समयभित्रै विशेष महाधिवेशन हुनेछ र त्यहीँ नयाँ सभापति निर्वाचित हुनेछ। नयाँ नेतृत्वसहित निर्णय निर्वाचन आयोगमा जान्छ।”
देउवाले असोज २८ मा सक्रिय राजनीति छोड्ने घोषणा गरेका थिए र उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर, आफूले दल दर्ता गर्दा आफ्नै नाम पठाउनुका कारण सक्रिय राजनीतिमा फर्कने संकेत दिएको ठानिन्छ।
संस्थापन पक्षका बहुमत सदस्य निर्वाचनअगाडि महाधिवेशन नगर्न अडिग छन्। त्यसको बावजुद देउवाको नाम पठाउँदा उनी आफैं टिकट वितरण गर्न चाहेको बुझिएको छ।









