काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ। अपराजित यात्रा कायम राख्ने क्रममा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो।
सोमबार भएको दिनको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। जवाफमा कर्णली १९.२ ओभरमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि पवन सर्राफले २७ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, गुल्सन झाले १३ रन तथा सोमपाल कामले १४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा अघिल्लो खेलमा शतक प्रहार गरेका मार्क वाटको १७ रन रह्यो।
कर्णालीलाई सस्तैमा अलआउट गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिँदा हर्मित सिंह र अभिनाश बोहोराले २-२ विकेट लिएका थिए। त्यस्तै, स्कट कुगलिङ्ग र हेमन्त धामीको नाममा १-१ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनु सर्वाधिक रह्यो।
उनीबाहेक क्रिस लिनले १८ रन बनाउँदा आरिफ शेखेले २७ रन बनाए। त्यस्तै, विनोद भण्डारीले ११ रन बनाउँदा हर्मित सिंहले १९ रन बनाए। त्यस्तै, स्कट कुगलिङ्गले १० रन बनाएका थिए।
कर्णालीका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।
यसअघि सुदूरपश्चिमले अघिल्ला दुवै खेलमा जित निकाल्दा कर्णालीले एक खेलमा जित र अर्को एक खेलमा हार भोगेको थियो। कर्णालीले पहिलो खेलमा चितवनसँग ४ विकेटको हार भोग्दा दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराएको थियो।
सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराउँदा दोस्रो खेलमा पोखरालाई १८ रनले पराजित गरेको थियो।









