images
images

एनपीएल: काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ।

१५८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ५ बल बाँकी छँदै १३५ रनमा अलआउट भयो।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रनको योगदान दिए। त्यस्तै दिलिप नाथले २५ रन बनाउँदा ड्रेसी सर्टले २२ रन जोडे। लुम्बिनीका कप्तान रोहित कुमार पौडेल र गुल्बदिन नइबले ११–११ रनको योगदान गरे।

बलिङमा काठमान्डुका मिलन्ड कुमार र जेराल्ड इरासमसले दुई दुई तथा शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो।

काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक अविजित ३४ रन बनाए। यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरसमसले समान १७/१७ तथा रसिद खानले १४  बनाए।

बलिङमा लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र गुलवदिन नैबले दुई दुई विकेट लिए। दोस्रो जितसँगै काठमान्डुले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। काठमान्डुले चार खेलबाट चार नै अङ्क बनाएको छ।

काठमान्डुले यसअघि उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्लाई पाँच विकेटले हराएको थियो। त्यसपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो।

यस्तै तीना खेलमा यो दोस्रो हार खेपेको लुम्बिनीको दुई अङ्क छ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो।

दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो। एनपिएलमा बुधबार डे-नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ।