काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आफूअनुसार धेरै ठूलो भएको भनिने सचिवालय संरचना कटौती गर्दै कुल ६ जनामा सीमित गर्ने निर्णय गरेकी छ। यसअघि २० जनामा चलिरहेको सचिवालय अब अत्यावश्यक छ पद मात्र राखेर सानो र प्रभावकारी बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०७४ मा बनेको प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि को एघारौँ संशोधन (२०८१) अनुसार ६६ जनाको दरबन्दी रहेको भए पनि अघिल्लो समयमा २० जनामै सीमित गरी मितव्ययी रूपमा सञ्चालन हुँदै आएको थियो। तर जेन जेड पुस्ता लगायत विभिन्न पक्षबाट उठेको असन्तुष्टि तथा आलोचनालाई ध्यानमा राख्दै सचिवालयलाई झनै सानो रूप दिने निर्णय भएको सरकारको भनाइ छ।
अब रहने पदहरू
विज्ञप्ति अनुसार अब प्रधानमन्त्रीको सचिवालयमा निम्न ६ पद मात्र रहनेछन्–
-
मुख्य सल्लाहकार — १
-
जनसम्पर्क सल्लाहकार — १
-
प्रमुख स्वकीय सचिव — १
-
प्रेस संयोजक — १
-
स्वकीय शाखा अधिकृत (फोटोग्राफर) — १
-
जनस्वास्थ्य विज्ञ (अवैतनिक) — १
यी बाहेकका सबै पद मंसिर ११ गतेदेखि खारेज हुने विज्ञप्तिमा सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले जनाएका छन्।
आलोचनापछि निर्णय
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्ना परिवार तथा नातेदारहरूलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। जेन जेड समूहहरूले सिंहदरबारभित्र र बाहिर प्रदर्शनसमेत गरेका थिए। सोही दबाबपछि प्रधानमन्त्रीले सचिवालय संरचना कटौती गर्ने निर्णय गरेकी हुन्।









