images
images

सुदूरपश्चिमलाई जितका लागि १४४ रनको लक्ष्य

काठमाडौँ  -सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा टस जितेर फिल्डिङ रोजेका सुदूरपश्चिमसमक्ष लुम्बिनी २ बल बाँकी छँदै १४३ रनमा अलआउट भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ थालेको लुम्बिनीले १७ औँ ओभरमा लगातार तीन विकेट गुमाएपछि ठूलो योगफल बनाउन सकेन । १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रनमा विकेटकिपर विनोद भण्डारीमार्फत आउट भए । पाँचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको थ्रोमा रनआउट भए । ओभरको अन्तिम बलमा दिलीप नाथ भण्डारीकै क्याचमा आउट भए।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३६ बलमा ३ चौकासहित ३५ रन बनाए । दिलीप नाथ ३१ रनमा क्याच आउट भए। ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन जोडे। शेर मल्ल ४ रनमा बोल्ड भए।

 

सुदूरपश्चिमका अविनास बोहराले २६ रन खर्चेर ३ विकेट लिए । हरमित सिंहले ३.३ ओभरमा २२ रन दिएर ३ विकेट झारे। हेमन्त धामीले २ विकेट लिए भने स्कट कुगेलाइनलले १ विकेट प्राप्त गरे।