काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको अपेक्षित सहभागिता बढाउन सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका तर्फबाट समयमै नीतिगत व्यवस्था कार्यान्वयन नहुनु निजी क्षेत्रको अपनत्व विस्तारमा मुख्य अवरोध बनेको स्वीकार गरे।
सचिव पुस्करका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअन्तर्गत परिकल्पित योजनाहरू द्रुत गतिमा कार्यान्वयन हुँदै छन् र यसले श्रमिकमा “राज्यले संरक्षण गर्छ” र “भविष्य सुरक्षित छ” भन्ने विश्वास मजबुत बनाएको छ।
उनले बताए अनुसार सामाजिक सुरक्षा योजनाले देशको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने आधार निर्माण गरिरहेको छ।
डाक्टर पुस्करले सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, रोजगारदाता तथा श्रमिक सबैको समान दायित्व रहेको उल्लेख गरे। उनले जनचेतनामूलक कार्यक्रम, सहुलियतको विस्तार र आवद्धता निरन्तरता सुनिश्चित गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
कार्यक्रममा उनले हाल सामाजिक सुरक्षा कोषमा करिब २५ लाख आवद्धता पुगेको तथा कोषको पुँजी एक खर्ब रुपैयाँभन्दा बढी भइसकेको जानकारी दिए।
उनका अनुसार, “यो कोष देशकै सबैभन्दा ठूलो जनताको पुँजी भएको कोष बन्दै गएको छ।”सचिव पुस्करले भने, “सामाजिक सुरक्षा योजनाले समाजलाई मात्र बलियो बनाउँदैन, सार्वजनिक वित्त प्रणाली र आन्तरिक पुँजी परिचालनलाई पनि सुदृढ बनाउँछ। सरकार आवश्यक सुधारका लागि प्रतिबद्ध छ, र छिट्टै आवश्यक नीतिगत व्यवस्थाहरू परिमार्जन गर्दै निजी क्षेत्रको अपनत्वलाई गतिशील बनाइनेछ।”
उनका अनुसार सामाजिक सुरक्षाका योजनाले देशको आर्थिक स्थायित्व, श्रमिकको भविष्य सुरक्षा र समग्र सार्वजनिक वित्तीय प्रणाली सबल बनाउन दीर्घकालीन भूमिका खेल्नेछन्।








