images
images

निर्वाचन तयारी तिव्र : सिंहदरबारमा प्रधानमन्त्री कार्की–अध्यक्ष ठाकुरको निर्णायक भेट

काठमाण्डौँ — प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।

अध्यक्ष ठाकुर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि दुबै नेताबीच आगामी निर्वाचन, राजनीतिक समन्वय तथा विकास योजनासम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्ताका दौरान प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न लागि वातावरण बनाउनेतर्फ लोसपाको सहयोग अपेक्षा गरिएको बताइन्। उनले सबै दलको सक्रिय सहकार्यले मात्रै लोकतान्त्रिक प्रक्रिया सुदृढ हुनेमा जोड दिइन्।

अध्यक्ष ठाकुरले पार्टी चुनावी तयारीमा लागेको र सम्भावित गठबन्धनका विकल्पबारे छलफल भइरहेको जानकारी दिए।
‘हामी स्पष्ट छौँ— चुनावमा अवश्य सहभागी हुन्छौँ। अहिलेको अवस्थामा चुनाव नै देशको एक मात्र निकास हो,’ अध्यक्ष ठाकुरले भने।

त्यस्तै, उनले तराई–मधेशमा विकासका ठूला परियोजनालाई अघि बढाउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरे। उनका अनुसार, ती परियोजनाले दीर्घकालीन आर्थिक र सामाजिक प्रभाव पार्ने भएकाले सरकारको सक्रियता आवश्यक छ।

भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।