काठमाडौँ — आसन्न प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का शीर्ष नेताहरूसँग बिहीबार साँझ बालुवाटारमा छलफल गरेकी छन्। बैठकमा भ्रष्टाचार नियन्त्रण, सुशासन, शान्ति–सुरक्षा र निष्पक्ष निर्वाचनका विषय प्रमुख एजेन्डा बनेका थिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, प्रधानमन्त्री कार्कीले चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएकोमा एमालेप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गरिन्।मन्त्री खरेलले भने,“प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र घोषित मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने बारेमा औपचारिक छलफल गर्नुभएको हो।”
छलफलमा सहभागी एमाले नेताहरूले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट मन्तव्य दिएका छन्। एमाले जनमतमा विश्वास गर्ने पार्टी भएकाले प्रतिस्पर्धाबाट पछाडि नहट्ने तर सरकार शान्तिपूर्ण र निर्भय वातावरण निर्माण गर्न गम्भीर हुनुपर्ने सुझाव दिएको मन्त्री खरेलले जानकारी दिएका छन्।
एमाले नेता महेश बर्तौलाले पनि वर्तमान सरकारी गतिविधिले भयरहित वातावरण बनाउन खासै सहयोग नगरेको भन्दै स्थिति सुधार गर्न आग्रह गरिएको बताए।
एमालेले उठाएका सुरक्षासम्बन्धी चासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न गराउनेतर्फ पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार, निर्वाचनमा सर्वसाधारण निर्भय भएर सहभागी होऊन् भन्ने वातावरण बनाउन सुरक्षा संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको छ।बैठकमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की र सूचना-प्रविधि मन्त्री जगदीश खरेल सहभागी थिए।एमालेतर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला उपस्थित थिए।









