काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ।
साविक च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो।
पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो।
जनकपुरका लागि आठौँ नम्बरमा ब्याटिङका लागि आएका वायन पर्नेलले ३८ बलमा २ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेल्दै ५० रन बनाउँदा रिटायर्ड हर्ट हुन पुगेका थिए। उनीबाहेक माज सदातले २० तथा सन्जय कृष्णमूर्तिले २५ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा पोखराका विपिन खत्रीले ४ विकेट लिँदा सुमित वर्माले २ र कुशल भुर्तेल र जिमी निशमले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनायो। पोखराका लागि दिनेश खरेलले ३८ रन बनाउँदा एडम रोसिङ्गटनले २४ रन बनाए। त्यस्तै, सुमित वर्माले ५० रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, त्रितराज दासले २९ रन बनाएका थिए।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३ विकेट लिँदा ललित राजवंशी र अनिल साहले समान १-१ विकेट लिएका थिए।









