काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा निरीक्षण भ्रमण गरी आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारीको समीक्षा गरेकी छन्। सेनाले हालको सुरक्षा अवस्था, चुनौतीहरू र आगामी योजनाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्। उनले “आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते नहुने” सुनिश्चित गर्न सुरक्षा निकायहरूसँग त्रुटिरहित समन्वय गर्न सेनालाई स्पष्ट निर्देशन दिइन्।
उहाँले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहज बनाउन र सबै राजनीतिक दलका गतिविधिहरू बिना अवरोध सञ्चालन हुन वातावरण तयार पार्न पनि सेनालाई मार्गनिर्देशन दिइन्।

साथै, प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा हराएका वा लुटिएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन, फरार अपराधी पक्राउ गर्न र स्थिति सामान्य पार्न सेनालाई प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरिन्।
भ्रमणमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो।









