images
images

आगामी निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने भीम रावलको दाबी

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा बन्ने दाबी गरेका छन् ।

धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले नेकपा ताजा जनादेशको लागि तयार रहेको बताएका थिए । उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए।

 

‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस्’ उनले भने, ‘यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’

उनले जेन जेडको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो । उनले ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको बताएका थिए ।

‘नेकपा एमालेलाई बलियो बनाउन १० बुँदे सहमति भएको थियो तर त्यो पनि ओलीले च्याते । पछि फेरी सिद्धान्त विपरीत काँग्रेस विरुद्ध गठबन्धन गरेर पद बाढिचुढि खाए ’ उनले भने , ‘गठबन्धन सरकारबाट हाम्रो र देशको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका खरानी भयो । केपी ओली त्यही खरानी घसेर जनतालाई तर्साउन खोजिरहनु भएको छ । ’