काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको र त्यस अनुसार भेट सम्पन्न भएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।
राप्रपाले परम्परागत शक्तिको प्रतिनिधि संस्था ‘राजसंस्था’, परिवर्तनकारी पुस्ताका प्रतिनिधि ‘जेनजी’ र राजनीतिक दलबीच नयाँ प्रकारको समझदारी आवश्यक भएको धारणा व्यक्त गर्दै आएको छ। सोही विषय प्रधानमन्त्रीसमक्ष समेत उठाइएको बताइएको छ।
हालै बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे राप्रपाको आधिकारिक धारणा प्रधानमन्त्रीलाई अवगत गराउने निर्णय गरेको थियो।
यसैबीच, राप्रपाले मंसिर २३ गते काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रदर्शनअघि सर्वपक्षीय भेला बोलाउनुपर्ने मागसहित नै प्रधानमन्त्रीसँग भेटवार्ता गरिएको नेताहरूले बताएका छन्।









