भक्तपुर – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति खुलेर असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूर्वराजा र राजावादी शक्तिहरू आन्दोलनमा निष्क्रिय रहेको आरोप लगाए।प्रसाईंले आफू तीन वर्षदेखि राजतन्त्र स्थापनाका लागि निरन्तर लडिरहेको दाबी गर्दै भने, “राजसंस्था र हिन्दु राज्यका लागि जेलसम्म बसेँ, तर पूर्वराजा र राजावादीहरू सक्रिय छैनन्। यही कारण आन्दोलन निष्कर्षमा पुग्न सकिएको छैन।”
पूर्वराजा शाहले आवश्यक दिशानिर्देशन नदिएको भन्दै उनले भूमिकामाथि प्रश्नचिह्न लगाए। पृथ्वीनारायण शाहको उदाहरण प्रस्तुत गर्दै उनले राजा आफैं अग्रभूमिमा उत्रिनुपर्ने तर्क दोहोर्याए।
उनको भनाइमा, “राजा हुँदाको केही त जोड–घटाउ, शक्ति हुनुपर्यो नि। चारजनाले बाटोमा उफ्रिएको सुन्निन्छ तर राजाबाट एउटा विज्ञप्ति पनि आउँदैन। दमकको चिया बगानमा घाम तापेर बस्ने हो?”
प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर आन्दोलन सफल बनाउन पूर्वराजा र राजावादी समूहले पनि बराबर साथ दिनुपर्ने बताए। प्रधानमन्त्रीको टेबलसम्म राजसंस्थाको माग पुर्याउन आफू सफल भएको दाबी गर्दै उनले अन्य राजावादी दलहरूलाई निष्क्रियता र दोहोरो चरित्र देखाएको आरोप लगाए।
विदेशमा बसेर सामाजिक सञ्जालमार्फत क्रान्तिकारी बन्नेहरूको पनि उनले आलोचना गरे। “ग्रिन कार्ड लिएर विदेशमै बस्ने, नेपालमै आन्दोलन चर्काउन उक्साउनेहरूले देश फर्केर आउनुपर्छ,” प्रसाईंले चुनौती दिए।
उनले संसदबाट हटाइएको राजतन्त्र पुनःस्थापना गर्न राजावादीहरूले चुनावमार्फत दुई तिहाई बहुमत ल्याउने व्यवस्था मिलाउनुपर्ने निष्कर्ष पनि सुनाए।









