images
images

कांग्रेसमा पुसभित्रै महाधिवेशन गर्ने तयारी तीव्र, नेताहरूबीच मतभेद अझै कायम

काठमाडौँ— नेपाली कांग्रेसभित्र महाधिवेशन मिति निर्धारणलाई लिएर उत्पन्न विवाद चुलिँदै जाँदा सभापति शेरबहादुर देउवा तथा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेताहरू पुसभित्रै नियमित महाधिवेशन गर्ने निष्कर्षतर्फ उन्मुख भएका छन्।

देउवा र कार्यबाहक सभापति खड्का नेतृत्वको समूह पुस महिनामै महाधिवेशन सम्पन्न गर्ने तालिका बनाउँदै छलफलमा जुटिरहेको छ। तर नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला भने हाल संगठनभित्र महाधिवेशनको माहोल नभएको दाबी गर्दै चुनावपछि मात्र महाधिवेशन धकेल्नुपर्ने पक्षमा उभिएका छन्।

आफ्नो प्रस्तावमा सहमति जुटाउन कांग्रेसले आइतबारका लागि तय गरेको केन्द्रीय समिति बैठक सोमबारमा सारिएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार साँझ विज्ञप्ति जारी गर्दै बैठक २०८२ मंसिर १५ गते सोमबार दिउँसो २ बजे बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने जानकारी दिएका छन्।

कांग्रेस स्रोतका अनुसार कार्यबाहक सभापति खड्का महाधिवेशन मितिमा एकमत नभएसम्म बैठक नबोलाउने अडानमा रहेका छन्।

यता, जेनजी आन्दोलनपछि नेतृत्वलाई निरन्तर दबाब दिँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुसभित्रै महाधिवेशन गराउने देउवाको प्रस्ताव अघि बढेको देखिएपछि उत्साहित भएका छन्।

आगामी दिनमा महाधिवेशनका पक्ष–विपक्षमा रहेका नेताहरूबीच सहमति जुट्ने वा संगठनभित्रको विवाद अझै चर्कने—कांग्रेस भित्रिया समीकरणले यही प्रश्नलाई मुख्य रूपमा निर्धारण गर्ने देखिन्छ।