images
images

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनका दुई समूहबीच एकता, २०२६ मा १२औँ महाधिवेशन

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का दुई फरक समूहबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गर्दै औपचारिक एकता घोषणा गरिएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अध्यक्ष महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी दस बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेसँगै दुवै समूह एकताबद्ध भएका हुन्।

पछिल्ला केही वर्षदेखि एनआरएनए श्रेष्ठ समूह र केसी समूह गरी दुई धारमा विभाजित थियो। मुलुकको बदलिँदो राजनीतिक परिस्थिति तथा संगठन भित्रको आवश्यकताका बीच दुवै नेतृत्व एक मंचमा आउन सहमत भएका हुन्।

सहमतिअनुसार आगामी १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन सम्पन्न गरिनेछ। महाधिवेशनलाई स्वच्छ, पारदर्शी र विश्वासनीय बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिने पनि उल्लेख छ। सो कमिटीका सदस्यहरू आगामी महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने सहमति गरिएको छ।

एक नेताका अनुसार, लामो समयको प्रयत्नपछि संगठनलाई एकताबद्ध बनाउन महत्वपूर्ण कदम अघि बढेको छ। “प्रधानमन्त्रीको उपस्थितिमा एकताको घोषणा भइसकेको छ। अब विश्वभरका एनआरएनहरूको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ,” उनले बताए।

एनआरएनए नेतृत्व एकतापछि संगठनलाई वैश्विक स्तरमा थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको छ।