images
images

सचिव बढुवामा वैकुण्ठप्रसाद अर्याल एक्ला दावेदार

काठमाडौँ – प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव (विशिष्ट श्रेणी) पदका लागि सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिंहदरबारमा बसेको समितिको बैठकले अर्यालको नाम सिफारिस गर्ने निर्णय गरेको हो। अर्याल हाल सुदूरपश्चिम प्रदेश, धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम मुकायम प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत छन्।

निजामती सेवा ऐनअनुसार ८० प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको प्रक्रियामा एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिव सिफारिस हुने व्यवस्था छ। पाँचौँ पटकको चक्रमा भने **ज्येष्ठता (२० प्रतिशत)**का आधारमा एक मात्रै सहसचिव सिफारिस हुन्छ। सोही प्रावधानअनुसार सबैभन्दा ज्येष्ठ सहसचिव वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरिएको हो।

मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएसँगै दुई सचिव पद रिक्त भएका थिए। तीमध्ये पहिलो पदका लागि कायम मुकायमका रूपमा सुदूरपश्चिम पठाइसकिएका वैकुण्ठप्रसाद अर्याल स्वतः एकल बढुवाका दावेदार बनेका छन्।

दोस्रो रिक्त पदका लागि भने तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस हुने तालिका तयार गरिएको छ। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेल पहिलो नम्बरमा रहेका छन्। सरकारले वर्तमान बरियतापथलाई निरन्तरता दिने हो भने अर्को मन्त्रिपरिषद् बैठकबाट पौडेल पनि सचिवमा बढुवा हुने निश्चितप्रायः देखिएको छ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएको नाम अनुमोदन गर्दै वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।