धनुषा – मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली काँग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।
जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । काँग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् ।








