images
images

जाँचबुझ आयोगले लियो आइजिपी कार्कीको बयान, पर्सिसम्म ओली लेखकलाई बोलाउने

काठमाडौँ – भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले आइजिपी दानबहादुर कार्कीसँग बयान लिएको छ।

आयोगले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा उपस्थित गराएर कार्कीसँग बयान लिएको हो। भदौ २३ गते जेनजी आन्दोलन र २४ गते त्यहीँ आन्दोलनका नाममा विध्वंस हुँदा उनी उपत्यका प्रहरी परिसर रानिपोखरीका प्रमुख थिए।

आन्दोलनका बखत एआइजी रहेका कार्कीलाई सरकारले कात्तिक २४ गते आइजिपी नियुक्त गरेको थियो। आयोगले उनीसँग भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिका, भदौ २४ गतेको विध्वंस नियन्त्रण हुन नसक्नुको कारणबारे सोधपुछ गरेको छ।

आयोगका प्रवक्ता विज्ञान शर्माका अनुसार कार्कीको बयान अझै बाँकी रहेकाले मंगलबार पनि जारी रहनेछ। आयोगले तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग यसअघि नै बयान लिइसकेको छ।

त्यस्तै आयोगले भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ। शर्माका अनुसार आयोगले केही दिनभित्रै ओली लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको छ। शर्माले भने, ‘हामी उहाँहरुलाई पर्सीसम्म बयानका लागि बोलाउँछौँ।’

ओली लेखकलाई आयोगले उपत्यका नछाड्न निर्देशन दिएको छ।

ओलीले आफू बयानका लागि आयोग समक्ष उपस्थित नहुने बताउँदै आएका छन्। तर उनी प्रधानमन्त्री रहेकै बेला ७६ जना नवयुवाको हत्या भएको र राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित सयौँ सरकारी कार्यालय, निजी सम्पत्ति आगजनी गरिएको जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ।