images
images

सामाजिक सुरक्षा योजनाको विस्तार–सामाजिक सुरक्षा कोष र CNI बीच MoU मा हस्ताक्षर

काठमाडौं, पुस २२ – सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार र उद्योग–व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघ (CNI) बीच आज एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा थापाथलीस्थित कोषमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार CNI ले आफ्नो आवद्धतामा रहेका संघ–संस्था तथा प्रतिष्ठानलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजीकरण गर्नेछ। सोही क्रममा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमै सञ्चालन गर्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले यो समझदारीले श्रमिक र रोजगारदाताबीच सामाजिक सुरक्षा योजनामा आवद्धता बढाउने विश्वास व्यक्त गर्दै उद्योग–व्यवसाय क्षेत्रमा सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा सामाजिक सुरक्षा कोषले यस वर्षको आठौँ सामाजिक सुरक्षा दिवसको नारा— “सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा” — प्राप्तिमा पनि यो सहकार्य महत्वपूर्ण हुने उल्लेख गरेको छ।