काठमाडौँ – भिजिट भिसा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट नै शुक्रबार सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटी बुझाएर रिहा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा र उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको थियो।
भ्रष्टाचारमा ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।
अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर मुद्दा अदालत पुर्याएको थियो । त्यसको भोलिपल्टै शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा छाड्न आदेश दिएको थियो। यद्यपि यस मुद्दामा न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने पुर्पक्षमा पठाउनु पर्ने फरक राय दिएका थिए।
बहुमत न्यायाधीशको इजलासले दिएको आदेशबमोजिम भट्टराई तोकिएको धरौटीअनुसार बैंक ग्यारेन्टी बुझाएर शुक्रबार नै रिहा भएका छन्।
भिजिट भिसा प्रकरणमा भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत ७ जेठ २०८२ मा पक्राउ गरी अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
यद्यपि यस मुद्दामा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि भने अख्तियारले मुद्दा दर्ता गरेको थिएन। उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।








