अस्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बन्डी बिचमा स्थानीय समयअनुसार आइतबार साँझ भीषण गोलीकाण्ड मच्चिएको बीबीसीले जनाएको छ। उक्त गोलीकाण्डमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
यो दुःखद घटनामा दुई जना प्रहरी अधिकारीसहित अन्य केही व्यक्ति घाइते भएको जनाइएको छ। न्यु साउथ वेल्स प्रहरीका अनुसार बन्डी बिचमा गोली चलाउने दुई जना बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीका अनुसार गोलीकाण्डमा धेरै मानिसहरुको हताहत भएको हुन सक्ने जनाइएको छ। गोलीकाण्डपछि उत्पन्न आतंकको वातावरणलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ‘स्तब्ध पार्ने र दुःखदायी’ घटना भनेका छन्।
गोलीकाण्डको समयमा बन्डी बिचमा धेरै मानिसहरू, विशेषगरी परिवार र बालबालिकाहरू, गर्मीको आनन्द लिइरहेका थिए।
सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दै ३० वर्षीय स्थानीय बासिन्दा ह्यारी विल्सनले आफूले कम्तीमा १० जनालाई भुइँमा र जताततै रगत देखेको बताएका छन्। गोलीकाण्ड स्थानीय समय साँझ ६:४० बजेतिर सुरु भएको बताइएको छ।
यो घटना हनुक्का नामक यहूदी पर्वको उत्सव मनाइरहेको समारोह नजिकै भएको बताइएको छ। अस्ट्रेलियाली यहुदी परिषद्का सह-प्रमुख कार्यकारी एलेक्स राइभचिनले यसको पुष्टि गरेका छन्। एक प्रत्यक्षदर्शीले हनुक्का कार्यक्रमबाट आफ्ना बालबालिकासहित दौडेको बताएका छन्।
यद्यपि, प्रहरीले घटना हनुक्का कार्यक्रमसँग जोडिएको थियो वा थिएन भन्नेबारे अहिले नै पुष्टि गर्न नसकिने जनाएको छ र घटनाको अनुसन्धान भइरहेको छ। घटनास्थलमा अहिले पनि हेलिकोप्टरहरू उडिरहेको र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।








