काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुने गरी काम गर्न आवश्यक रहेको बताइन्।
उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउनेसमेत बताइन्।
उनले भनिन्, ‘भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरु सबैलाई विदितै छ। राजनीतिक र आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो। सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ। यसले राष्ट्रलाई बलियो बनाउँदछ।’








